Prakash Saput

गीत रेकर्ड गराउन प्रकाश सपुतले ६ घन्टा कुरेको त्यो दिन…

  • December 20, 2019
  • 202

Prakash Saput

काठमाडौं– अहिले लोकदोहोरी गायनमा स्थापित नाम हो– प्रकाश सपुत। अहिले उनलाई कामको कुनै कमी छैन। स्टेज कार्यक्रमको कुनै अभाव छैन।

तर, समय यस्तो पनि थियो जतिबेला उनलाई एउटा गीत रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यसैले आज उनका थुप्रै हिट गीत भइरहँदा उनलाई भने ती पुराना पल झन् प्यारा लाग्छन्।

उनी सानैबाट प्रत्यक्ष दोहोरी गाउँथे, गाउँघर हुने स्टेज कार्यक्रममा प्रस्तुति दिन्थे, स्थानीय प्रतियोगितामा भाग लिन्थे, त्यसैले माइक्रोफोनसँग परिचित थिए। दुइ वर्ष स्थानीय रेडियोमा आरजेका रुपमा काम पनि गरे, त्यसैले स्टुडियोको माहोलसँग परिचित भए।

तै पनि, पहिलो गीत रेकर्ड गराउँदा उनी नर्भस भएछन्। ‘मेरो आफ्नै शब्द, संगीतमा ‘गरिखाने जनतालाई गरिखान देऊ’ गीत रेकर्ड गराएको थिएँ,’ उनी पहिलो गीत रेकर्ड गराउँदाको पल यसरी सम्झन्छन्, ‘बबरमहल (काठमाडौं)को प्रिज्मा स्टुडियोमा रेकर्डिङ भएको थियो। बिहान ११ बजे स्टुडियो पुगेको थिएँ, निकै जोश र उत्साहित। तर, स्टुडियो यति धेरै प्याक थियो कि मेरो पालो साँझ ५ बजेमात्रै आयो। नढाँटीभन्दा पालो आइसक्दा बिहान पुग्दाको जोश नै हराइसकेको थियो।’

पालो ढिलो आउँदा कतिखेर काम सकेर घर जाऊँ भइसकेको थियो। ‘त्यतिबेलाको रेकर्डिङ मलाई त्योभन्दा बढी याद छैन,’ उनले भने। संगीत संघर्षका क्रममा काठमाडौं आएको करिब १ वर्षपछि मात्रै प्रकाशले त्यो पहिलो गीत रेकर्ड गराउने अवसर पाएका थिए।

त्यसपछि उनको दोश्रो गीत ‘मुसुमुसु नहाँस मायाले’ रेकर्ड भएको थियो, अनामनगरको एक स्टुडियोमा। ‘पहिलो र दोश्रो दुवै गीत रेकर्ड गर्दा ममा ठूलो उत्साह थियो तर डरचाँहि खासै थिएन,’ प्रकाश सम्झिन्छन्, ‘किनभने मैले त्यतिबेला सिधैँ स्टुडियोमा गएर गीत रेकर्ड गरेको अवस्था थिएन। म त्यसअघि धेरैपल्ट अरुका गीत रेकर्ड हुँदा स्टुडियोमा पुगेको थिएँ, गीत कसरी रेकर्ड हुन्छ, त्यो प्रक्रियाबारे जानकारी लिएको थिएँ।’

तर प्रकाशलाई आफ्नो गीत रेकर्ड हुने दिन ‘एक किसिमको डर’ भने आजका दिनसम्म पनि हुन्छ रे।

‘‘कस्तो एक किसिमको डर?’

‘गीत रेकर्ड हुने दिन बिहानैदेखि घाँटी खसाएखसाएजस्तो, के होला, कस्तो होला, गाउँन सक्छु कि सक्दिनँ होला भन्ने डरचाँहि आजको दिनमा पनि हुन्छ,’ प्रकाशले भने।

नामको कथा
‘बोलमाया’, ‘गलबन्दी’ जस्ता गीत गाएर चर्चा कमाएका प्रकाशको नामको कथा कम रोचक छैन। धेरैलाई जान्ने उत्सुकता होला उनको नाम पछाडि ‘सपुत’ किन?

‘मेरो खास नाम प्रकाश विक हो,’ प्रकाश भन्छन्, ‘पहिलेबाटै साहित्यमा एकदमै रुचि थियो। गाउँका स्थानीय पत्रिकातिर गजल, कविता लेखिन्थ्यो। स्कुलमा पनि भित्तेपत्रिका निकाल्थ्यौँ। एउटा गजल प्रतियोगिताका लागि मैले ‘सपुत’ शब्द प्रयोग गरेँ। दिमागमा झट्ट सोच आयो, ‘मेरो नाममा प्रकाश सपुत राख्यो भने कस्तो सुनिएला, अनि प्रकाश सपुत विक राख्दा लामो सुनिने भएपछि प्रकाश सपुत मात्रै राखेँ।’

योभन्दा रोचक कुरा के भने प्रकाशले यसअघि पनि थुप्रै नाम राखिसकेका थिए। वसन्तप्रकाश हरियाली, प्रकाश दुःखी, प्रकाश विरही उनका केही पुराना नाम हुन्। उनले ती पुराना पत्रिका अझै सुरक्षित राखेका छन्, जहाँ ती पुराना नाम भेटिन्छन्। कहिलेकाँही ती पत्रिका पल्टाउँदा, अनि पुराना नाम हेर्दा उनी एक्लै गमक्क परेर हाँस्छन्। ‘जीवनको सौन्दर्य भनेकै यही त रहेछ,’ यति भनेर प्रकाश मुस्कुराए।

यस्तो लाग्थ्यो, सायद ती पुराना नाम लिइरहँदा उनी त्यहाँ हाँस्न खोजिरहेका थिए तर, मुस्कुराएर हाँसो थामिरहेका थिए।

तपाईको प्रतिक्रिया