कविता "बा र दशै" - Prakash Saput

कविता “बा र दशै”

  • August 18, 2020
  • 3142

Prakash Saput
( बुबाको मुख हेर्ने दिन, कुशे औशिको शुभकामना सहित )
हरेक ३/४ सालमा एकपटक
आउथे एक ज़ोड गहिरो आखा
र चुपचाप प्रश्न गर्थे मलाई
छोरा,
कहिले हुन्छन ठुलो ?
कहिले बाड्छस दु:ख ?
कहिले सक्छस साउको सावा ?
कहिले ठोक्काउछस म संग गिलास
र बन्छस बाउको साथी ?
उत्तरमा अर्का एक जोड़ निर्दोष आखाहरु
प्रश्नै फर्काउथे ।
बा,
कति पोल्दो हो अरबको घामले ?
कति पोल्दो हो हाम्रो यादले ?
कति पोल्दो हो साउको सावाले ?
कति पोल्दो हो आफ्नै अधुरा रहर
र कहिल्यै नसकिने दुखले ?

३/४ सालमा एकपटक
आउथ्यो, एउटा खदिलो ज्यानको
गम्भिर अनुहार
र बनाउथ्यो घरै उजेलो
थपिन्थ्यो, आमाको सिन्दुर टिका र
पोतेमा नया चमक ।
भिजाउथ्यो, भाईहरुको मुख
गुलियो थुकले ।
सजिन्थ्यो , सबैको हरमा एक एक ज़ोर
नया लुगा ।
पाक्थ्यो , अगेनामा बडो प्यारले पालेको
रातों भाले ।
बस्थ्यो , पुरानो बाक्सामा केहि हज़ार
नया नोटहरु ।
त्यो दिन,
दिन दशै हुदैनथ्यो
मन दशै हुन्थ्यो ।
किनकि
बा आएको साल
आएकै दिन दशै आउथ्यो
बा नआएको साल
दशैको दिन पनि दशै आउदैनथ्यो ।
प्रकाश सपुत, २६ बैशाख २०७७

तपाईको प्रतिक्रिया