रानीफुल बसायो... प्रत्यक्ष दोहोरीको सुन्दरता, भाका प्रयोग र श्रष्टा अधिकार -Prakash Saput

रानीफुल बसायो…. प्रत्यक्ष दोहोरीको सुन्दरता, भाका प्रयोग र श्रष्टा अधिकार

  • September 4, 2020
  • 4131

Prakash Saput

प्रकाश सपुत ||१९ भदौ २०७७

खासमा हरेक दिन उस्तै भएर होला यो लडाउन अवधिमा तिथी मिती याद नहुने रैछ । तर हरेक दिन केहि नया कुरा हेर्ने, नया कुरा पढ्ने, केहि नया कुरा सोच्ने मनसायले अलिअलि दिन र बार चाहि हेक्का राख्ने प्रयास गर्छू । म कुनै पनि कुरामा पोख्त छैन तर मेरो रुचिको दायरा अलिकति फराकिलो भने छ । विहिबार दिनभरी VMA TVमा  2020 video music award हेरेको थिए .  LADY GAGA , BTS, MALUMA, DOJA CAT लगाएत विश्वप्रख्यात पप म्युजिक गायक कलाकारहरुको रोमान्चक प्रस्तुतीले आश्चर्य चकित परेको थिए । संसारको म्युजिक र गायक गायिकाहरुको बारेमा धेरथोर जान्ने अबसर पनि मिल्यो । आज शुक्रबार चाहि सारंगि संसार युटुब च्यानलमा लोक प्रिय गायिका अग्रज जुना श्रीष र गायक कुशल बेलबासेको दोहोरी हेरे । दोहोर्‍याएर हेरे । गहिरो गरि ह्दयलाई छोयो । तपाई पनि हेर्नुस मन पर्छ । स्योर ।

गायिका जुना श्रीष अग्रज हुनुहुन्छ । आवाज र शब्दको धनि हुनुहुन्छ । लामो सांगितिक अनुभव र धेरै गितहरुमा आवाज भरिसक्नु भएको छ । उहा प्रति छुट्टै सम्मान छ । गायक कुशल बेलबासे संग मैले गामबेसी रोधिघर ठमेलमा छोटो समय सहकार्य गरेको थिए । हामी दुबै जनाले गाउने कुरालाई एउटा जागिरको रुपमा मात्र नभएर सन्तोषको रुपमा मनै देखि गाउथ्यौ । मैले दोहोरी गाउदा कुशल जी एक एक शब्द सुनेर बस्नुहुन्थ्यो । कुशल जि ले गाउदा म थपक्कै कान थापेर बस्थे । गाईसके पछि हामीले एकअर्काको प्रंशसा गर्थिम । यो शब्द त क्या भन्नु भयो यार भनेर अंकमाल गर्थिम । कहिले काहि हामी पाहुनाको लागि होइन आफ्नै लागि गाउने गर्थेउ । मुड हुदा त्यो माहोल चाहि मैले बनाउथे । एक एक जना गायिका रोजेर कुशल जी र मैले पालैपाले गाउने गरिन्थ्यो । अनि समिक्षा गरिन्थ्यो र एक अर्कालाई प्रशंसा र प्रोत्साहन गरिन्थ्यो । हुन पनि जब हामीले कुनै विछोडको दोहोरी गाउथ्यौ सुन्नेहरु रुन्थे । माहोल स्तब्ध हुन्थ्यो । त्यसैले पाहुनाहरु नआउदै मैले पलेटि कसेर यस्तो दोहोरी गाउने माहोल बनाउथे । बडो मजा आउथ्यो । आज मेरा धेरै रेकर्डेड सिर्जनामा यस्तै पलेटि कसेर गायिएका प्रत्यक्ष दोहारीका विषयहरु समेटिएका छन । मेरो अन्तरमुखी स्वभावले कुशल जी र म संगै खानेबस्ने साथी त बन्न सकेनौ तर एउटा राम्रो शुभचिन्तक र समकालीन छौ । भन्ने नै हो भने सिंगो लोकदोहोरी क्षेत्रमा त–त म–म गर्ने र दुखसुख सेयर गर्ने मेरो मिल्ने साथी कोहि छैन तर कुशल जि जस्तै धेरै समकालीन छन जो संग म आत्मिय छैन तर एकदम राम्रो शुभचिन्तक छु । जस्तो प्रत्यक्ष दोहोरीमा समकालिन कुशल बेलबासे र रेशम निर्दोषको शब्द चयन, उठान शैली निकै मिठो लाग्छ । किनकि उहाहरुको स्वर पनि निकै सुमधुर छ । उता व्यवसायिक सिर्जना तर्फ खेम सेन्चुरी, नरेश खाती, तेजेश रेग्मी लगाएत केहि समकालीन सर्जक र गायकहरु हुनुहुन्छ जो संग मेरो कुनै आत्मिय सम्बन्ध छैन तर म उहाहरुको राम्रो शुभचिन्तक हु । एउटै पुस्ता भएकाले मलाई भएकंर आरिष पनि लाग्छ उहाहरु संग तर गर्व पनि ।

पछिल्लो समय प्रत्यक्ष दोहोरी सुन्ने धेरै स्रोता दर्शक बढेका छन । स्रोता दर्शक त पहिला पनि हुनुहुन्थ्यो तर कुनै गाउको आगन हुदै मेला महोत्सव हुदै दोहोरी साझ हुदै अहिलेको भर्चुअल दुनियामा आईपुग्दा त्यो संख्या झन थपिएको छ । अहिले युटुबमा दोहोरी हेरेर / सुनेर समय विताउने धेरै हुनुहुन्छ । अनौपचारिक रुपमा इन्द्रेणी, इमेज दोहोरी, सारंगी संसार, आलाप स्टुडियो जस्ता थुप्रै टेलिभिजन कार्यक्रम , युटुब च्यानल र औपचारिक रुपमा गल्बन्दि गितले पनि प्रत्यक्ष लोकदोहोरी हेर्नेको संख्या थपेको छ भन्दा अतियुक्ति नहोला । बहुचर्चित गायक आदरणिय राजु परियार लगायत केहि अग्रज कलाकार सहित आश्चर्यचकित पार्ने कमला घिमिरेहरुको आगमनले प्रत्यक्ष दोहोरीका दर्शक स्रोता झन बढेका छन । गायक गायिका टिका सानु, रविन लामिछाने लगायत केहि नामहरुको चर्चा व्यवसायिक रुपमा धेरै गित रेकर्ड गर्नेको भन्दा धेरै छ । जुन लोकदोहोरीका लागि निकै सुखद कुरा हो । यो भनेको क्षेत्र झन झन फराकिलो हुनु हो । बजार ठुलो हुनु हो । बजार ठुलो हुनु भनेको पैसा धेरै आउनु पनि हो । अर्थशास्त्रले यस्तै भन्छ क्यारे । जहा पैसा हुन्छ त्यहा जानी नजानी धेरैको ध्यान तानिन्छ । प्रत्यक्ष लोकदोहोरीको बजार देखेपछि त्यता दैडिने धेरै छन । गनिनसक्नु युटुब च्यानलहरु छन जहा दोहोरी कार्यक्रम प्रस्तुत गरिन्छ । कुनै कुनैले लोकदोहोरीको सुन्दरतलाई झन सुन्दर रुपमा प्रस्तुत गरेका छन भने कुनै कुनैले जबरजस्ती फोहोर पनि बनाईरहेका छन । अहिले म त्यो विषयमा जान चाहन्छ । किनकि नेपाली समाजको चेतना नै सुन्दर छकि फोहोर छ छुट्टाउन सक्ने स्थितीमा छैनौ हामी । केहि राजनैतिक परिवर्तनले हामीले हाम्रो पुरानो केहि परिचय र स्थान त छोडेका छौ तर देशले कुनै नया दिशा र गति तय गर्न नसकेको हुनाले हामी, हाम्रो पुस्ता, र हाम्रो समाज एकै ठाउ अल्मलिएका छौ र हामी संगै हाम्रो विचार, चेतना, संस्कार, संस्कृति पनि अल्मलिएको छ । यस्तो अबस्थामा कुन गित राम्रो /कुन गित नराम्रो भन्न सकिन्न ।

मैले यहा उठाउन खाजेको विषय चाहि लोकदोहोरीमा भाकाको प्रयोग र स्रष्टा अधिकारको कुरा हो । प्रत्यक्ष लोकदोहोरीको सुन्दरता भनेकै कुनै चल्तीको भाका लिएर आफ्ना शब्दमा दोहोरी खेल खल्नु हो । सवाल जवाफ गर्नु हो । मेरो उमेरका हिसाबले लामो अनुभव नभएपनि म प्रत्यक्ष दोहोरीबाट आएको कलाकार हु । औपचारिक रुपमा आफ्रना गितहरु रेकर्ड नगर्दै देशविदेशका थुप्रै स्टेजहरुमा दोहोरी गाएको छोटो अनुभव चाहि छ मेरो । र त्यो छोटो अनुभवले के भन्छ भने भाकाले नै दोहोरीको विषय वस्तु निर्धारण गर्छ । अब सुन्नुन यो दोहोरीमा भाका रानीफुल बसायो… नभएर गल्बदि च्यातियो.. भएको भए शब्द अर्कै आउथे, मुड अर्कै हुन्थ्यो । त्यसैले भाका जस्तो – दोहोरी त्यस्तै । यसलाई यसरी पनि भन्न मिल्ला दोहोरी राम्रो हुनलाई पहिला भाका राम्रो हुनुपर्छ । र भाकाको कुरा गर्नुपर्दा प्रत्यक्ष दोहोरी गाउन बस्दा कुनै पनि गायक गायिकालाई ६०/७० को दशकमा निस्किएका धेरै भाकाहरु दिमाखमा आउछन । तिनताका कुनै सर्जकले सिर्जना गरेका भाकाहरु अहिले पनि युटुबमा अपलोड गरिएका थुप्रै दोहोरी गितहरुमा गाईएका छन जसको भ्युअर्स मिलियन–मिलियन छ । कतिको त ओरिजनल गितको भन्दा धेरै छ । अहिलेको चुनौति भनेको भाका प्रयोग गरे बापत सम्बन्धित स्रष्टाले पाउने अधिकार र रोयल्टिको विषय हो । मैले माथी उल्लेख गरेको प्रत्यक्ष लोकदोहोरीको बजार र बजार बाट आउने पैसाको सन्दर्भ यहि रोयल्टिको विषयलाई जोडनलाइ हो । यो विषयमा औपचारिक छलफल भएको त मैले कतै सुनेको छैन तर यस्सो स्टुडियो छेउछाउका चियापसलमा बेला बेला यो विषय सुनिन्छन । एकथरी भन्छन– टेलिभिज र युटुबमा यो लाईभ दोहोरी बन्द गर्नु पर्छ अर्काको भाका प्रयोग गरेर पैसा कमाउने ? अर्काथरीको तर्क छ फेरी – का हुन्छ ? अहिले लोक गितको इज्जत धानेकै लाईभ दोहोरीले छ । हेर त युटुब ट्रेन्डिङ त खाएको खायै छ । यो दुइवटै चर्चा जायज छ । यो दुईवटै तर्कमाथी छलफल गरेर विचको बाटो अपनाउनु जरुरी छ । लोकदोहोरी सस्कृति र सुन्दरतालाई बचाईराख्न र पुस्तान्तरण गर्न चाहे त्यो मेला महोत्सवमा होस, चाहे दोहोरी साझमा होस, चाहे टेलिभिजनमा र युटुबमा लाईभ दोहोरी हुनै पर्छ । साथै भाका प्रयोग गरे बापत स्रष्टाको अधिकार र रोयल्टीको मापदण्ड बनाउनु जरुरी छ । स्रष्टाको कुरामा आफ्नो भाका गाइदिए हुन्थ्यो भन्ने पनि छन आफ्नो भाका गाएर पैसा कमायो भनेर सराप्ने पनि छन । अझ अहिले कुनै कुनै त लाइभ दोहोरी चले पछि चलेका भाका पनि छन । मलाई सांगितिक क्षेत्रमा आउन प्रेरणा दिने आफ्नै दाई भएकाले मैले सारंगि संसारका कमल कुमार विश्वकर्मा लाई सजिलै साधे – दाई , यो अरुको भाका प्रयोग गर्दा केहि अफ्ठयारो हुदैन ? दाईले इमान्दार साथ भन्नु भो – हुन्छनी भाई, अब नया नया भाका बनाएर गाउदा त्यति मजा आउदैन । सुन्दै नसुनेको भाकामा दोहोरी गाउन गायक गायिकलाई पनि मुड आउदैन । चलेको भाका प्रयोग गर्दा सम्बन्धित स्रष्टाले मन दुखाउने होकि ? अफ्ठयारो पार्ने होकि भन्ने डर लाग्छ । मैले आफ्नै दाई त हो भनेर हल्का पेलेरै भने – मन दुखाईहाल्छन नि दाई । अरुको भाका प्रयोग गरेर डलर कमाउने अनि ? दाईले आफ्नै शालिन पारामा भन्नु भो – त्यस्तो धेरै डलर पनि आउदैन भाइ आउनत । अब पहिल्यै बाट दोहोरीमा लागियो, दोहोरी साझमा धेरै समय विताइयो दोहोरी कै अनुभव छ । फेरी आफै सारंीग बादक पनि भएकाले यहि गरम न त भनेर ख्यालख्यालमै शुरु गरेको । अहिले राम्रै छ । अलिअलि डलर त आउछ तर बाद्यबादन, क्यामरा, इडिटिङ गायक गायिका सबैलाई दिनुपर्छ । उहि हो भाई । मैले फेरी क्रस हाने – अनि श्रष्टालाई दिनु पर्दैन ? दाईले भन्नु भो – दिने मन त हुन्छ ।भाका गाइसके पछि अफ्ठयारो पनि लाग्छ तर कति दिने ? कसरी दिने ? अब यो दोहोरीको ठयाक्कै यति डलर आउछ भन्ने भए पछि एउटा प्रशेन्टेज राखेर दिन हुन्थ्यो । अहिले गायक गायिकाले भाका रोजे पछि सम्बन्धित स्रष्टाको अनुमती मागर मात्रै गाउने गर्‍याछम । कतिले हुन्न नगाउ पनि भन्नु हुन्छ । कतिले खुसी हुदै धन्यवाद पनि भन्नु हुन्छ तर एउटा माफदण्ड भए त भाकाको रोयल्टी तिरेरै गाउन पाए ढुक्क हुन्थ्यो भाइ ।

अर्थशास्त्रको एउटा सोझो सिदान्त छ बजारमा जुन बस्तुको माग हुन्छ त्यो बस्तुको उत्पादन स्वत बढ्छ । अहिले प्रत्यक्ष दोहोरीको बजार राम्रो छ भने धेरै लाईभ दोहोरी आउनु स्वभाविक हो । आउनु पर्छ । तर बजारमा जाने बस्तुको गुणस्तर मापन भए जस्तै लाइभ दोहोरीका केहि न्युनतम मापदण्डको निर्धारण हुनु पर्छ । सम्बन्धित निकायले लाईभ दोहोरीको सास्कृति निगरानी गर्ने र यस संग जोडिएर आउने व्यवसायिक पाटो जस्तै श्रष्टा अधिकार र रोयल्टिको विषयलाई व्यवस्थापन गर्नु पर्छ । तर लाईभ दोहोरीहरु चलिरहनु पर्छ । किनकि यसले एउटा ऐतिहासिक र सास्कृतिक महत्व बोकेको त छनै धेरै जनालाई रोजगार पनि प्रदान गरेको छ ।

जय लोक दोहोरी ।

तपाईको प्रतिक्रिया